आजबाट डिभी भर्न सकिने, प्लस टुका विद्यार्थी पनि योग्य


Bazar Dainik
7 October, 2021 8:54 am

झापा, असोज २१ । सन् २०२३ को डीभी नेपाली समयानुसार आज बेलुका पौने १० बजेदेखि भर्न सकिने भएको छ । सन् २०२३ का बिजेताको नाम यहि सन २०२२ को मे मा थाहा हुने र यही वर्षको सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्ने जनाइएको छ ।

नेपाल लगायत मकाउ र ताइवानले डिभीको लागि आबेदन दिन सक्नेछन तर बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, हैटी, होन्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, भेनेजुएला र भियतनामका नागरिकले भने डीभी भर्न पाउनेछैनन् ।

डीभी भर्नका लागि १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव हुनुपर्नेछ भने डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ ।

डिभी भर्नका लागि १८ बर्ष नपुगेपनि भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरेको भने हुनुपर्ने छ । अमेरिकी दूतावास काठमाडौंका अनुसार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी नरहेको तर पढाई वा कामको अनुभव लगायतका अन्य योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन् ।

सन् २०२३ को डिभी लोटरीमा सहभागी हुनका लागि ११ वा १२ कक्षा पढ्दै गरेकाहरु पनि सहभागी हुनसक्नेछन् तर उनीहरुले डिभी परेर भिसा पाउनका लागि भने १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्छ ।

डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ भने एकल उल्लेख गरेर डिभी भर्नेले एकल नै उल्लेख गरेर भर्नुपर्नेछ । डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य गरिएको छ । पछिल्लो २ बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो । पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ ।

अमेरिका बसेका नेपालीहरुले पनि डिभी भर्न पाउनेछन् । यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्