शिक्षकमा कोरोना पुष्टि भएसँगै बुद्धशान्तिका तीन विद्यालय बन्द


Bazar Dainik
30 September, 2021 12:56 pm

झापा, असोज १४ । झापाको बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय राम्रोसँग सञ्चालनमा आउन नपाउँदै बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा नै बन्द गरिएका हुन् ।

बन्द भएका सामुदायिक विद्यालय बुद्ध आदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारी दिए । उनले बुद्ध आदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द गरिएको बताए ।

असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र एउटा धार्मिक विद्यालयमा पठनपाठन सुरु गरिएको थियो । विद्यालय खोलिएको एक हप्ता भित्रमै ज्वरो आउने र खोकी लाग्ने विद्यार्थीको संख्या बढ्न थालेपछि पालिकाको शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारदेखि पठनपाठन बन्द गरिएको बर्ने माविका प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्