आर्थिक क्षेत्रका महिलाको तीज सम्बन्धी धारणा र अनुभव


Bazar Dainik
9 September, 2021 5:16 pm

मनिषा चम्लागाईँ ।
झापा, भदौ, २४ ।
यतिबेला देश तथा विदेशमा नेपाली हिन्दु महिलाहरु तीजको लहरमा छन् । हिन्दु नारीहरुको महान पर्वको रुपमा मनाइने हरितालिका तीज महिलाले परापूर्वकालदेखि मनाउदै आएका छन् ।

आज तीजको मुख्य दिन । विशेषगरी बिवाहित नारीले आफ्नो पतिको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै र अबिवाहित नारीहरुले राम्रो पति पाऊँ भनेर व्रत बस्ने दिन । व्रत बसेको दिन मन्दिर तथा शिवालयमा भेला भएर शिवको पुजा गर्ने तथा नाचगान गर्ने प्रचलनसमेत छ ।

सामान्यतया महिलाहरु तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट निरहार व्रत बस्ने गर्दछन् । तर पछिल्ला केही वर्षयता भने तीज शुरु हनु भन्दा १ महिना अघिदेखि नै दरखाने कार्यक्रम गर्दै मनाउने प्रचलन बढिरहेको छ ।

तीजमा महिलाहरु नयाँ गहना, पहिरन, श्रृंगारका सामग्री आफ्नो लागि र आफन्तहरुका लागि किन्ने गर्छन् । निम्न, मध्यम र उच्च वर्गिय महिला सबैले तीजका आ–आफ्नै योजनाहरु बनाएर बनाएर मनाउने गर्दछन् ।

तर सामान्यस्तरका महिलाहरुले मनाउने तीज र आर्थिक जगतका महिलाहरुले मनाउने तीज पनि उस्तै रहेको पाइएको छ । बजार दैनिकले झापाका व्यवसायी तथा उद्यमी महिलाको तीजको योजना र तौरतरिकाका बारेमा चर्चा गरेको छ ।

तीजमा महिलाले बनाएका सागम्री पैसासँग साट्ने अवसर मिलेको छ,
नैनकला भट्टराई, उपाध्यक्ष – बिर्तामोड उद्योग वाणिज्य संघ

यतिबेला नेपाली हिन्दु महिलाहरुको चाड हरितालिका तीजको लहरमा हामी छौँ । मैले थाहा पाए देखि नै तीज मनाउँदै आएकी छु । विषशेगरी तीज आफन्त साथीहरुसँग मिलेर मनाउने गरेको छु ।

परम्परालाई धान्न र भावि पुस्तालाई हाम्रो संस्कार हस्तान्तरण गर्न पनि सबैसँग मिलेर चाडपर्व मनाउनु पर्छ । म १३ वर्ष अघिदेखि तीजको व्रत बस्दै आएकी छु । बिवाहित नारीले आफ्नो पतिको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै र अबिवाहित नारीहरुले राम्रो पति पाऊँ भनेर पानी पनि नपिइ निर्जला व्रत बसी तीज पर्व मान्ने प्रचलन छ । पछिल्लो समय विभिन्न प्रकारका रोगहरुसमेत बढ्दै गएकाले स्वास्थ्यको ख्याल गर्दै व्रत बस्नुपर्छ भन्ने मलाई लाग्छ । ब्रत बस्दा पानी र फलफूल भने खानु पर्छ ।

केही वर्षयता भने तीज शुरु हनु भन्दा १ महिना अघिदेखि नै दरखाने कार्यक्रम गर्दै मनाउने प्रचलन बढिरहेको छ यसलाई हामी जोकोहीले सकारात्मक रुपले हेर्नुपर्छ । तीजमा महिलाहरु नयाँ पहिरन आफ्नो लागि किन्ने र आफन्तहरुका लागि पनि किन्ने गर्छन् । यसले आर्थिक परिचालन हुन्छ, व्यापार बढ्छ । अन्य बेलामा भन्दा पैसाको कारोबार धेरै हुन्छ । तीजमा महिलाले उत्पादन गरेका सामग्रीले पनि बजार पाउने हुनाले सामग्रीलाई पैसासँग साट्ने अवसर मिलेको छ । यो व्यापारिक दृष्टिले राम्रो हो । मेरो पुजा सामग्रीको पसल छ, अन्य समयमा भन्दा तीजमा मेरो व्यापारसमेत बढेको छ ।

म तीजकै लागि भनेर गहना भने बनाउँदिन । पछिल्लो समय तीजमा तडकभडक प्रदर्शनसमेत गरिएको पाइन्छ यसलाई भने रोक्नु पर्छ हामीले आफ्नो क्षमतालाई हेरेर पर्व मनाउने, माया, स्नेह, सद्भाव साटासाट गर्ने गर्नुपर्छ ।

अग्रिम तीज मनाउनुलाई आर्थिक हिसाबले राम्रो मान्नुपर्छ,
रुची शिवाकोटी न्यौपाने –
सञ्चालक तथा प्रिन्सिपल : कञ्चनजंगा ईन्ष्टिच्यूट अफ हेल्थ एण्ड साइन्स प्रालि

हिन्दु महिलाहरुका लागि हरितालिका तीज मुख्य पर्व हो । तीजलाई चेली, माइति, दिदीबहिनीको भेटघाट, सुख–दुःख साट्ने साथै सामाजिक सद्भावको रुपमा मनाइरहेका छौँ ।

म सानो हुँदादेखि नै तीज पर्व मनाउथे । म पनि आज तीजको व्रत बसेकी छु । व्रत भने विवाह पछि बस्दै आएकी छु । व्रत बस्दा आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै पानी र फलफूल खाएर बस्नुपर्छ । तीजको मौलिकतालाई स्थापित गर्दै सामाजिक सद्भाव, एकताको विकास गर्न नयाँ पुस्ताको महत्वपूर्ण भूमिका हुनुपर्दछ भन्ने मेरो धारण हो ।

घरमै दर खाने कार्यक्रम राखेर साथीभाईबीच ‘गेट टुगेदर’ गरेर पनि तीज मनाइने हुनाले मलाई यो पर्व महत्वपूर्ण लाग्छ । हिजोआज अग्रिम तीजको दर खाने, खुशी साटासाट गर्ने संस्कार विकास भएको छ, यसलाई म सकारात्मक रुपमा लिन्छु । पछिल्लो समय महिलाहरु पनि विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्नुहुन्छ । जसकारण अग्रिम मनाइने तीजले सबै जनाको निम्तो ग्रहण गर्ने अवसर मिल्ने गरेको छ ।

साथी तथा आफन्तको निम्तो मान्न जाँदा, चुरा, पोते गिफ्ट लाने चलन छ । जसकारण यो पर्वमा चुरा र धागो बनाउनेहरुले काम पाउँछन् । यसले रोजगारीसमेत सिर्जना गरेको छ । त्यसैले अग्रिम तीज मनाउनुलाई आर्थिक हिसाबले राम्रो मान्नुपर्छ भन्ने मेरो विचार हो । कोरोना महामारीको संकट कायमै रहेकाले यसबाट आफू बच्न र अरुलाई पनि बचाउन स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै पर्व मनाउनु पर्छ ।

जिम्मेवारी पुरा गर्दै पर्व मनाउनु पर्छ
गोमा भट्टराई, संयोजक – महिला उद्यमी संघ प्रदेश– १

तीज पर्वसँग हाम्रो धार्मिक आस्था जोडिएको छ । यस प्रकारका संस्कार र आस्थालाई बचाउन सके हाम्रो संस्कृत मात्र बच्दैन, आर्थिक क्षेत्रलाई चलायमान बनाउनसमेत सहयोग पुग्छ । परापूर्वक कालमा महिला दिदीबहिनीहरु तीजमा मेलमिलाप र दुःख साट्ने अवसरका रुपमा लिनु हुन्थ्यो ।

पतीको दीर्घायुको कामना गर्दै म पनि तीजमा व्रत बस्ने गरेकी छु । मन्दिर जान्छु, दर खाने कार्यक्रममा सहभागी हुन्छु । पछिल्लो समय महिलाहरु आर्थिक रुपमा सवल हुने क्रम बढ्दो छ । त्यसैले धार्मिक आस्था सँगसँगै सेलिब्रेसन गर्ने शैली पनि परिवर्तन भएको छ । आर्थिक सवलताकै कारण खासगरी तीजमा चुरा, सारीलगायतका गिफ्ट किनेर दिइन्छ । यो पक्ष मलाई सकरात्मक लाग्छ ।

हरेक तीजमा लाखौँ मूल्य बराबरका श्रृंगार तथा पहिरनका सामग्रीसमेत बिक्री हुन्छ । यसले पनि हाम्रो आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग गरेको छ । अग्रिम रुपमै तीज मनाउने प्रचलनसमेत सुरु भएको छ । यसले गर्दा आफूलाई फुर्सद हुँदा तीज मनाउन पाइने हुनाले अग्रिम दरका कार्यक्रमले पर्वको रौनक थप गरेको छ । म तीजमा माइत पनि जान्छु । माइत गएर आमाको हातले बनाएको परिकार खान पाउनु मलाई सबैभन्दा रमाइलो पक्ष लाग्छ । साथै सबैले आआफ्नो आर्थिक हैसियतअनुसार तीज मनाउनु पर्छ भन्ने मेरो धारण छ ।

तडकभडक नगरी पर्व मनाउनु पर्छ
सरला, दाहाल पोखरेल – व्यवसायी

तीज हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व हो । परम्परालाई धान्ने गरी सबैसँग चाडपर्व मनाउनै पर्यो । मलाई सानैबाट तीज मनपर्ने । विवाह पछि मैले तीजको व्रत बस्न सुरु गरे । व्रत बस्न थालेको १८ वर्ष भयो ।

जेसिजले आयोजना गरेको कार्यक्रममा महिलाहरुका लागि उपहार दिन स्वरुप श्रृंगारका सामानहरु किनिएको छ । यसप्रकारको संस्कारको विकास हुँदै गएकाले आर्थिक क्षेत्र चलायमान बन्न पनि सहयोग पुगेको छ ।

अहिले अग्रिम तीज मनाइन्छ । सामान्य तरिकाले अग्रिम तीज मनाउदाँ केही हुँदैन । दिदीबहिनी, छोरी, चेलीबेटीहरु धेरै हुनेले एकै दिनमा नै दर खाने भनेर समय मिलाउन नसक्न सक्छन् । उनीहरूका लागि अग्रिम तीज मनाउने प्रचलन बढेको हो । तर, मलाई धेरै गहना प्रदर्शन गरेर हिडेको भने खासै राम्रो लाग्दैन । त्यसैले तडकभडक नगरी आफ्नो परम्परा, संस्कृतिलाई जोगाउने जिम्मेवाारी हाम्रो नै हो ।

तर, पछिल्लो समय तीजको नाममा भित्रिएका विकृतिले गर्दा सामान्य आयस्तर भएका महिला र उच्चआयस्तर भएका महिलामा छुट्टिनुका साथै मनमुटावको भावना पनि सिर्जना भएको छ । सामाजमा नराम्रो असर नपर्ने गरी चाडपर्व मानने हो भने हाम्रो संस्कृति अर्को पुस्तासम्म पुर्याउन सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्