निर्यातमुखी सुपारी प्रशोधनमा सहकारी


Bazar Dainik
18 August, 2021 8:33 pm

                 

मुलुकको विशेष गरी उत्तर– पूर्वी तराई भूभाग ज्यादै मलिलो र उब्जाउशील भएकाले यँहा धेरै प्रकारका व्यवसायिक बालीहरु उत्पादन हुने गरेका छन् । आधुनिक र व्यवस्थित तवरले रोपण गरिएका बोटबिरुवाहरु, व्यवसायिक कृषिबालीहरु रमणीय र पर्यटकीय आकर्षणले युक्त भएर शोभा बढाइरहेका देखिन्छन् । धेरै समय अघि देखि याँहा सुपारीखेति हुँदै आएको छ ।

उत्पादित सुपारी व्यवसायी र प्रशोधनको योजना बनाएर खोलिएका सहकारीले छोटो अवधिमा राम्रो आर्थिक उन्नति गर्न सकेकाले यस खेतिमा संलग्न कृषकलाई उत्पादित सामग्री नगद बनाउन कता लाने भन्ने चिन्ता घटेको छ । समयको गतिसँगै व्यवसायिकता तर्फ उन्मुख यस खेतीले क्रमिक रुपमा नेपालको उत्तर–पूर्वी भागबाट फैलिदैँ पश्चिम नवलपरासी तिर पनि उत्पादन थालनी भएको छ । यसले आकर्षण र क्षेत्र बिस्तार हुनेक्रम बढेको देखिन्छ । निरन्तरको परिश्रम र मेहनतकै कारण सुपारी उत्पादक कृषक सफलताको सिंढी चढ्दैछन् ।

सुपारी उत्पादक कृषकहरुले आफैँ नियमन र उद्देश्यहरुको निश्चिय गरी आफ्नो कार्यक्षेत्रका शेयर सदस्यहरुलाई अधिकतम नाफा दिलाउने उद्देश्यले सहकारीको स्थापना गरी छाता संस्था ‘केन्द्रीय सुपारी सहकारी संस्था’को समेत स्थापना गरेर सुपारी उत्पादक कृषकमा अझ राहत पु¥याउन कोशिस गरिरहेको देखिन्छ ।

सुपारी कारोबार गर्दै गरेका सहकारीहरुले एकातर्फ सुपारी उत्पादक कृषकलाई शेयर सदस्यको रुपबाट समेट्ने काम गरेका छन् भने, अर्कातर्फ ‘सुपारी उत्पादन वृद्धि प्रतिस्पर्धात्मक कार्यक्रम’का रुपमा उत्पादन क्षेत्रमा बेलाबखत सेमिनार तथा जानकारीमूलक कार्यक्रम सञ्चालनमा ध्यान पु¥याएकाले जनमानसमा सहकारी प्रति सकारात्मक भावनामा वृद्धि हुँदैगएको देखिन्छ ।

सुपारी उत्पादक कृषकले विगतमा झेल्दै आएका बाली तयार भएपछि त्यस वर्षको बजारमुल्य बुझ्ने, कँहा बिक्री गर्ने ? कुन दरले बिक्री गर्ने ? भण्डारणका लागि ठूलाखाले बोरा कता पाउने ? व्यापारी आउँछन् \आउँदैनन् ? लगायतका मानसिक तनाव र दिग्दारीहरुबाट लगभग मुक्ती मिलेको छ । सुपारी सहकारी समितिका सदस्यहरु र त्यस अन्तरगतका कर्मचारीले सुपारी उत्पादक कृषकलाई घर–घरमा पुगेर त्यस वर्ष निश्चिय गरिएको खरीद मुल्य र सुपारी बाली सम्बन्धि समसामायिक अवस्था बारे जानकारी गराउने बुझाउने भएकाले सुपारी उत्पादक कृषकलाई पहिले–पहिलेका दिनहरुको तुलनामा ठूलो मद्धत पुगेको कुरा कृषक बीच हुने गरेका चर्चाबाट पनि थाहा पाउन सकिन्छ ।

विश्वको कुल उत्पादनमा FAOSTAT ले देखाएअनुसार सन् २०१३/१४ मा ४९.७४ प्रतिशत उत्पादन गरेर भारत बढी सुपारी उत्पादन गर्ने मुलुकको सूचीमा परेको छ भने नेपालले ३.००० हे.मा ११.५६० मे.टन उत्पादन भएर आठौँमा श्रेणीमा रह्यो । त्यसरी नै सन्.२०१६ को तथ्याङ्कमा विश्वमा १,२१४,०६४ मेट्रिक टन उत्पादन हुँदा नेपालमा १४,२२५ मेट्रिक टन उत्पादन भएर आठौँ श्रेणीमै रहेको देखाएकोले क्रमिक रुपमा उत्पादन वृद्धि हुँदै गएको देखाएको छ ।

यसरी बर्षेनी क्षेत्र विस्तार भइरहँदा उत्पादनमा त्यसैअनुसार वृद्धि भइरहनु स्वाभाविक देखिन्छ । नेपालको जम्मा उत्पादनको झण्डै २० प्रतिशत उपभोग भएर बाँकि सबै अन्तराष्ट्रिय बजारमा निर्यात हुन्छ । सुपारी विदेशी मुद्रा आर्जन हुने व्यवसायिक कृषि उपज भएकाले निर्वाध निर्यात हुनु पर्नेमा केही वर्ष देखि रोकिएको पाइएको छ ।

वर्ष दिनमा एकपटक मात्र बिक्री गरिने वस्तु निर्यात रोकिनासाथ व्यवसायीले आफू खुशी तोकेको मुल्यमा दिनैपर्ने बाध्यता उत्पादक कृषकहरुमा छ, यो दुःखद हो । कौडीको मूल्यमा व्यापारीहरुलाई बुझाउँनु पर्दा सुपारी उत्पादक कृषकहरुमा भएको असह्य पीडा अभिभावकत्व ग्रहण गरी उभिएको कृषि मन्त्रालयले किन कृषकको समस्या देख्दैन ?

समयमै अग्रसरता देखाएर कृषकको पीडामा सम्बोधन नगरिनु, मौन रहनु दुःखद हो । कृषि मन्त्रालयले हालसम्म ‘सुपारी खेति विषय विज्ञ’ उत्पादन गर्नपनि सकेको छैन । विषय–विज्ञ उत्पादनमा ध्यान नदिने र अनुभवका आधारका जानकारलाई जिम्मेवारी पनि नदिने प्रवृत्ति रहेसम्म बाली प्रविधिमा सुधारको आशा मृगतृष्णा नै भइरहने देखिएको छ ।

हाल सम्बद्ध सहकारीहरुले सुपारीको आधुनिक तौरतरिका अवलम्बन गर्दै प्रशोधन कार्य अगाडि बढाउन थालेका छन् । यसले बजार व्यवस्थापन र बजारीकरणका कार्यहरु सहज हुँदै जाने आशा गर्न सकिन्छ । बजारमा सुपारीका विभिन्न परिकारहरुको माग उच्च अवस्थामा रहेको देखिन्छ, । यस परिप्रेक्षलाई नियाल्दा सहकारीहरुको काँधमा थप गम्भिर जिम्मेवारी आइरहेको महशुस हुन्छ । सुपारी बजारीकरण र निर्यात सन्दर्भमा आफ्नो परिचय स्थापित गराउने ‘लोगो’ (Brand) निश्चित गराउन नितान्त जरुरी देखिएको छ ।

सुपारी व्यवसायी, बजार विश्लेषकहरु, विज्ञहरु र सुपारी उत्पादक कृषकले ठहर गरेको विषय आफ्नो परिचय ‘लोगो’ (Brand) स्थापित गराउनु हो । जसले आफ्नो उत्पादनको स्थायी बजार र महत्व स्थापित गर्नसक्छ र क्रमशः मागमा परिवर्तन ल्याउँन सक्छ, यो गम्भिर सत्यलाई नकार्न सकिन्न । वस्तुको मुल्य व्यक्ति वा व्यवसायी कसैको लहडमा परिवर्तन वा स्थापित गर्नसकिने वा हुनसक्ने सहज बिषय होइन । अर्थशास्त्रका अनुसार माग र पुर्तिको अवस्थाको आधारमा नै वस्तुको मुल्य निर्धारण हुने हुनाले बजार मूल्य थोरै वा धेरै हुनमा बजारको विश्लेषण अनुसारका गुणस्तरीय उत्पादनहरु नै हुन् ।

त्यसैले बजार माग अनुरुपका परिकारहरुको निर्माणका लागि प्रशोधनमा ध्यान पु¥याउनु जरुरी भएकाले सरकारका जिम्मेवारी प्राप्त निकायलाई पनि ध्यानाकर्षण गराउँदै सुपारी उत्पादक कृषकहरु, सम्बद्ध सस्ंथाहरु र सहकारीहरु सबैले एैक्यबद्धता जनाउँदै अत्यन्त ध्यानपूर्वक अघि बढेमा आमागी दिनहरु सबैका लागि अझ सुन्दर, सुदृढ र मजबुत हुँदै जाने कुरामा दुईमत देखिदैन ।

प्रतिक्रिया दिनुहोस्