कस्तो छ मेची अञ्चल अस्पतालको अवस्था ?


Bazar Dainik
16 May, 2021 6:32 am

कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल पनि पूर्णरूपमा प्रभावित भएको छ । कोरोना पोजेटिभ बिरामीले अस्पताल भरिएका छन् । अस्पतालमा शैया नहुँदा भुइँ, अस्पतालबाहिर बरन्डा, पेटीमा समेत उपचार भइरहेको छ । अक्सिजन अभावमा बिरामीको ज्यान गइरहेको छ । अस्पतालले नयाँ बिरामी भर्ना नगर्ने र अस्पतालमा रहेका बिरामीलाई पनि अक्सिजनको व्यवस्था आफैं गर्नु भन्ने खालका विज्ञप्ति जारी गरिरहेका छन् । भएका ग्यास उद्योगबाट आपूर्ति व्यवस्थासमेत भद्रगोल छ । यस्तो अवस्थामा सरकारी अस्पतालले कसरी काम गरिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर मेची अञ्चल अस्पताल झापा भद्रपुरका मे.सु.डा. पीताम्बर ठाकुरसँग गरिएको कुराकानी ः

मे.सु डा. पीताम्बर ठाकुर, मेची अञ्चल अस्पताल भद्रपुर झापा

कोभिड उपचारको लागि हामीसँग एक सय बेड छ । आजको दिनमा ६३ जना संक्रमित उपचार गराइराख्नु भएको छ । अहिलेसम्मको तथ्यांक हेर्ने हो भने हामीले ३५० बढी संक्रमितलाई उपचार गराएका छौँ । त्यसमा पहिलो लहरमा ४ जनाको मृत्यु भएको थियो भने दोस्रो लहरमा ७ जनाको मृत्यु भएको छ । अहिले सबै बिरामीलाई आईसीयुमा राख्नुपर्ने अवस्था छ । हामीसँग अक्सिजन कम छ र खपत बढ्दो दरमा छ । हिलो एउटा अक्सिजन सिलिन्डरले आधा घण्टा काम गर्दथ्यो भने अहिले १५÷२० मिनेट मात्र काम गर्छ । गर्मी बढेको र अक्सिजनको मात्रा घटेकाले पनि समस्या छ । अस्पतालमा कतिबेला अक्सिजन कम होला र बिरामी मर्ला भन्ने अवस्था आउने देखिन्छ । अक्सिजन स्टक सिस्टम पनि छैन ।
नन्कोभिड बिरामी पनि आउने क्रम बढेकाले हामीसँग बेड अभाव छ ।

अक्सिजन प्लान्ट नभएकाले बिराटनगर, बिर्तामोडबाट अक्सिजन भरेर ल्याउने गरेका छौँ । अस्पतालमा नै अक्सिन प्लान्ट स्थापना गर्ने ठेक्का लागे पनि कोभिडका कारण भारतले निर्यातमा अवरोध गर्दा स्थापना हुन नसकेको हो । अहिले हाम्रा स्वास्थ्यकर्मी पनि संक्रमित भएर होम आइसोलेसनमा बस्नुभएको छ । त्यसैले जनशक्तिको पनि अभाव छ । हामी दबाब र अभावका बीच काम गरिरहेका छौँ । हामी दैनिक पिसीआर परीक्षण गरिरहेका छौँ । तर किट अभावले १÷२ दिनमा परीक्षण नै बन्द हुने अवस्था आउँछ । होम आइसोलेसनमा रहेका बिरामीहरुलाई स्थानीय सरकार अन्र्तगत स्वास्थ्य शाखाले हेरिरहेको छ । स्वास्थ्य शाखाको सहकार्यमा होमआइसोलेसनमा रहेका बिरामीको अवस्था बुझ्न दैनिक दिउँसो ११ बजेदेखि १२ः३० सम्म जुम मार्फत् कार्यक्रम गर्दै आइरहेका छौँ । स्थानीय सरकारले संक्रमितलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा अझ गम्भिरताका साथ लाग्नुपर्छ । सरकारले घर–घरमा अक्सिजनको व्यवस्था, स्वास्थ्य परार्मशको व्यवस्था गरीदिए अस्पतालसम्म आउने बिरामीको मात्रा कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्