व्यवसायी भन्छन्,‘असार २५ मा कर तिर्न सम्भव छैन’


Bazar Dainik
22 June, 2021 8:43 am

झापा, असार ८। कोरोनाको दोस्रो लहरले संक्रमण र मृत्यु दर बढेपछि सरकारले देशैभरी स्थानीय प्रशासनमार्फत निषेधाज्ञा लगाएको छ । झापामा मंगलबार रातिदेखि छैटैं पटक थप भएको निषेधाज्ञा लागू हुँदैछ । असार १४ सम्म जारी रहने निषेधाज्ञाबाट सबैभन्दा बढी व्यवसायिक क्षेत्र मारमा छ । अधिकांश उद्योग बन्द छन् । आंशिक सञ्चालनमा भएका उद्योगबाट उत्पादित वस्तु बजारमा पठाउने अवस्था छैन । खाद्यान्न र स्वास्थ्य बाहेकका खुद्रा पसल ठप्प छन् । होटल र पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको छ । दुई बर्षदेखि लगातारको कोरोना कहरका कारण मुलुकको व्यवसायिक क्षेत्रले अरबौं रुपैयाँको क्षति बेहोरेको छ । ऋण काडेर गरेको लगानी जोखिममा रहेको अवस्थामा राजश्व विभागले असार २५ भित्र व्यवसायीलाई कर तिर्न समायावधि दिएको छ । व्यवसाय ठप्प रहेपनि बैंकको किस्ता, घर भाडा तिरिरहेका व्यवसायी असार २५ मा कर तिर्न सक्षम छन् त ? विषयमा केन्द्रित रहेर बजार दैनिकले व्यवसायीसँग गरेको कुरा ः–

राजेन्द्र राउत
उपाध्यक्ष, उद्योग वाणिज्य संघ प्रदेश–१

बन्दाबन्दीले सबै व्यवसायी मारमा छन् । सरकारले असार २५ सम्म कर तिर्ने समयवधि तोकेको छ । प्रदेश–१ मा मात्र १ हजारदेखि १२ सय उद्योग छन् । यहाँ चिया, सिमेन्ट, जुटका उद्योगहरु ठूलो परीमाणमा सञ्चालनमा छन् । अहिले सञ्चालनमा रहेका उद्योगले पनि ५० प्रतिशत मात्र उत्पादन गर्न बाध्य छन् । ५० प्रतिशत बढी उद्योग ठप्प छन् । धेरै नै व्यवसायी साथीहरु व्यापार बन्द गरेर कोठामा बस्न बाध्य छन् । यस्तो अवस्थामा हामीले कर कसरी तिर्ने ? खाद्यन्न उद्योग सञ्चालनमा छन् । तर, हाम्रो बजार उदारो बजार हो । यहाँ नुनदेखि सुनसम्म उदारोमा कारोबार हुने गर्छ । त्यसैले यो निषेधाज्ञाको समयमा व्यवसायी कर तिर्नसक्ने अवस्थामा छैनन् । म उद्योग वाणिज्य संघ प्रदेश–१ को नेतृत्व तहमा रहेकाले व्यवसायीको समस्या राम्रोसँग बुझेको छु । निषेधाज्ञा पूर्णरुपमा खुलेको १ महिनापछि मात्र कर लिन उद्योग वाणिज्य संघले सरकारी पक्षसँग पहल गरिरहेको छ । महासंघ पनि यो विषयमा गम्भिर छ । हामीले सरकारलाई बारम्बार घच्घचाई रहेका छौँ । सरकारले केही दिनमा व्यवसायीको पक्षमा केही निर्णय पक्कै गर्ला, हामी अपेक्षामा छौं ।

नैनकला भट्टराई (बिर्तामोड) उपाध्यक्ष, उद्योग वाणिज्य संघ बिर्तामोड
लकडाउनले हामी व्यवसायी मारमा छौँ । गत वर्षदेखि बन्द भएका व्यापार व्यवसाय अहिलेसम्म पूर्णरुपमा खुल्न सकेका छैनन् । सरकारले असार २५ सम्म कर तिर्नु भनेको छ । सरकारले सके करमा छुट दियोस्, कि जरिवाना नगरोस् । यि दुवै गर्न नसके कर तिर्ने समय बढाउनुपर्छ । व्यवसाय सञ्चालनमा नआएकाले व्यापारीलाई घर चलाउन नै समस्या छ । झापाका महिला उद्यमी अझ समस्यामा छन् । निषेधाज्ञा मात्र होइन, कच्चा पदार्थको अभावमा पनि उद्योग बन्द छन् । ढाका उद्योग सञ्चालनमा ल्याएका उद्यमी धागो, सियो नपाएर व्यवसाय नै ठप्प गरेर बसेका छन् । घर, व्यवसाय नै धितो राखेर व्यापार गर्दै आएका महिला उद्यमी न आफ्नो आवज सम्बन्धित ठाउँमा पु¥याउन सक्छन् न त कर तिर्न नै । त्यसैले सरकारले कर तिर्ने अवधि बढाउनुपर्छ ।

रबी नेपाल (मेचीनगर)
सचिव, मेची उद्योग वाणिज्य संघ

गत वर्ष मात्र होइन, यस वर्षपनि असारको पहिलो साता सुरु भएपछि सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । यो व्यवसायीबाट कर उठाउने सरकारको रणनीति हो । पीसीआर परीक्षण घटाएर कोरोना संक्रमितको संख्या कम देखाएर कर उठाउन सरकार लागेको प्रष्ट हुन्छ । विगत ५५ दिनदेखिको निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प छ । सरकारी कार्यालयसमेत पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् । व्यवसायीहरु घर चलाउन, बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन् । अब सरकारले व्यवसायीलाई भनिदियोस् कर कसरी तिर्ने ? सरकारले ठूला उद्योगलाई मापदण्ड पालना गरेर सञ्चालन गर्न अनुमति दियो । कुन उद्योगमा सरकारी प्रतिनिधि अनुगमनका लागि गए ? त्यसैले ठूला उद्योगले कर तिर्न सक्लान् तर, साना व्यवसायी कर तिर्न सक्ने अवस्थामा छैनन् ।

बासुदेब बराल (धरान)
पर्यटन व्यवसायी

कोरोना महामारीबाट सबै भन्दा धेरै जोखिमा परेको क्षेत्र हो, पर्यटन । होटल बन्द छन्, यातायात सञ्चालनमा आउने कुरै छैन, हवाई उडान पनि ठप्प छ । हामी पर्यटन व्यवसायीले स्टाफ पाल्ने कि, घर भाडा तिर्ने कि, सरकारलाई कर बुझाउने ? सरकारलाई मेरो प्रश्न छ । हिजो कोरोना महामारी सुरु हुँदा हामीले सरकारलाई राहत उपलब्ध गराएर सहयोग ग¥र्यौँ तर, आज सरकार व्यवसायीमैत्री बन्न सकेन । अहिले प्रदेश–१ मा मात्र ३ हजार स्तरिय होटल तथा लज बन्द छन् । रेष्टुरेन्ट कति बन्द छन् भन्ने त तथ्यांक नै छैन । हाम्रो प्रदेशमा होटलमा गरिएको २० अर्ब लगानी जोखिममा छ । स्टाफ पलायन भएका छन्, होटलको स्वरुप कुरुप बनेको छ । यी क्षेत्रको मर्मतमा मात्र पुनः २० प्रतिशत लगानी गर्नुपर्ने अवस्था छ । अब भन्नुहोस् हामीले कसरी कर तिर्ने ? सरकारले कम्तिमा ३ महिनाको अवधि लम्बाइदिन सक्दैन ?

चैतन्य बराल (दमक)
चलचित्र व्यवसायी

जहाँसम्म राजश्व बुझाउने कुरा छ, अर्थ मन्त्रालयले कर बुझाउने म्याद असार २५ सम्मलाई दिएको छ । कोरोना महामारीले बन्द भएका व्यवसाय सञ्चालनमा आउन सकेका छैनन् । झापाकै कुरा गर्ने हो भने पुनः एक साता निषेधाज्ञा थप भएको छ । कोठामा बन्द अवस्थामा रहेका व्यापारीले कर बुझाउन सक्ने अवस्था छैन । आर्थिक अवस्था मजबुद भएका व्यापारीलाई त फरक नपर्ला । तर, कर सम्बन्धि सबै प्रावधानहरु नयाँ आर्थिक वर्ष सुरु भएदेखि न्युनतम तीन महिनासम्म समय सीमा तोकिदिने हो भने सानाठूला सबै व्यवसायीलाई राहत मिल्छ ।

प्रकाश नेपाल (पाँचथर)
व्यवसायी

सरकारले भनेजस्तो असार २५ भित्र कर तिर्न सहज छैन । विभिन्न प्राविधिक समस्यामा व्यवसायी छन् । दैनिकरुपमा सञ्चालनमा आएका व्यवसायीले नैतिक हिसाबले पनि कर तिर्नुपर्छ । तर, अन्य व्यवसायी ठूलो रकममा कर तिर्न लगानी बजारमा फसेको कारणले समस्यामा छन् । हामी कर तिर्न तयार छौं । तर, किस्ता बन्दिमा गरेर कर तिर्न मिल्ने व्यवस्था भए केही सहज हुने थियो ।

प्रेम पाण्डे (दमक)
प्रबन्ध निर्देशक, फ्रुट एग्रो प्रोडक्ट प्रालि

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय लगातार थपेको थपेकै छ । हामी मदिराजन्य पदार्थको व्यापार गर्नेहरुले निषेधाज्ञामा एक दिन एक छिन पसल खोल्न पाएका छैनौं । असार १४ सम्म निषेधाज्ञा छ । अनि असार २५ मा कसरी कर तिर्नु ? संकटको बेलामा पनि किसानको दुध खरिद गरेर करिब २ लाख लिटर बदाम जुस तयार गरेका छौं । निषेधाज्ञाका कारण जुस बजारमा पठाउन सकिएको छैन् । ऋण गरेर किसानलाई दुधको पैसा तिरेर जुस गोदाममा थन्काउनु परेको अवस्था छ । कर तिर्न सरकारले दिएको असार २५ को टाइमलाइन कुनै हालतमा उपयुक्त छैन् ।

प्रतिक्रिया दिनुहोस्