दुई आत्मघाती गोलका कारण पोर्चुगल जर्मनीसँग पराजित


Bazar Dainik
20 June, 2021 12:03 am


झापा, असार ६ / युरो २०२० मा जर्मनीले पहिलो जित हात पारेको छ। शनिबार राति भएको खेलमा जर्मनीले साविक विजेता पोर्चुगललाई ४-२ गोलले पराजित गरेको हो।

यसअघि पहिलो खेलमा जर्मनीलाई फ्रान्सले हराएको थियो । पोर्चुगलले भने हंगेरीमाथि जित निकालेको थियो । शनिबार क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । क्राउन्टर आक्रमणमा जोटाले दिएको पासमा रोनाल्डोले सुन्दर गोल गरेका थिए ।

तर, खेलको ३५ मिनेटमा जर्मनीले बराबरी गर्न सफल भयो । जर्मनीका गोसेन्सले डिबक्समा हाभर्ट्जलाई पास दिएका थिए । उक्त पास क्लियर गर्ने क्रममा पोर्चुगलका रुबेन डियासले आफ्नै पोस्टमा गोल गर्न पुगे ।

चार मिनेटपछि पोर्चुगलले दोस्रो आत्मघाती गोल गर्दा जर्मनीले अग्रता लिएको थियो । जर्मनीका किमिचको प्रहारलाई रोक्ने क्रममा पोर्चुगलका गुइरेरोले आफ्नो पोस्टमा बल छिराउन पुगेका थिए ।

पहिलो हाफमा २-१ ले अघि रहेको जर्मनीले ५१ मिनेटमा तेस्रो गोल गर्‍यो। यसपटक हाभर्ट्जले गोल गर्न सफल भए।

६० मिनेटमा जर्मनीका लागि रोबिन गोसेन्सले अर्को गोल गरेपछि जर्मनी ४-१ ले अघि बढ्यो ।

६७ मिनेटमा पोर्चुगलका लागि जोटाले दोस्रो गोल गर्दा खेल ४-२ को अवस्थामा सकिएको थियो।

जितसँगै जर्मनीले समूह एफमा तीन अंक जोडेको छ। शीर्ष स्थानको फ्रान्सको चार अंक छ । फ्रान्सले शनिबार नै भएको खेलमा हंगेरीसँग १-१ को बराबरी खेल्यो । पोर्चुगलको पनि तीन अंक छ भने हंगेरीले एक अंक बटुलेको छ।

प्रतिक्रिया दिनुहोस्